प्रधानमन्त्री दाहाल द्धारा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’

RadioSiddhababa

सिन्धुली, बैशाख २६, २०८१ बुधबार ।

 

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोह बीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । प्रधानमन्त्री दाहालले टीबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटार बाट सुरुङ खन्न पसेको टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्री बाट बाहिर निस्किएको थियो ।

 

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ । सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकामा ३ महिना २ दिनअगावै सम्पन्न भएको छ । एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । ०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । ०७७ फागुन २० मा कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भई आयोजना निर्माणको थालनी भएको थियो ।


उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमा पानी हाल्न सुनकोशी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माणको काम जारी छ । सुरुङमार्फत मरिणखोलामा सुनकोशीको पानी प्रतिसेकेन्ड ६७ क्युसेक खसालिनेछ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट बिजुली उत्पादन गरिनेछ ।


‘ब्रेक थ्रु’ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले लक्ष्यभन्दा अघि नै सुरुङ ब्रेक थ्रु भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आयोजनाको बाँकी काम पनि निर्धारित समयमा नै सम्पन्न हुने बताउनुभयो । ‘सुरूङको ब्रेक–थ्रु हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘आयोजनाको बाँकी काम पनि निर्धारित समयमा नै सम्पन्न हुनेमा विश्वस्त छु ।’


प्रधानमन्त्री दाहालले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको बताउनुभयो । ‘यो आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नेछ । यस आयोजनाले मधेस प्रदेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ । सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुनेछ,’ उहाँले भन्नुभयो, ‘साथै, यस आयोजनाले बिजुलीसमेत उत्पादन गर्ने भएकोले उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।’


नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने भएकोले यो आयोजनाको प्रभावकारी हुने उहाँको विश्वास छ । ‘यस आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसंख्याको बहुआयामिक विकास हुनेछ । यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि हुनेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।


सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनले सुरुङ खनेको हो । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेक संग १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा सम्झौता गरिएको हो  । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड छ ।


नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । विद्युत् उत्पादन सँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको मुख्य उद्देश्य हो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाल पत्रकार महासंघ सिन्धुलीका सस्थापक शेषराज दाहाल सम्मानित

  सिन्धुली, बैशाख २१, २०८१ शुक्रबार । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट

RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल